logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुग्यो


अंकुरण खबर
741
Shares

बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ।

एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो। अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए। योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको उनको भनाइ छ।

कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाखयता शुरु भएको दोस्रो लहरमा ३९ जनाले ज्यान गुमाउनुपरेको छ।

जिल्लामा पहिलोपटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो । त्यसयता चार हजारबढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० रहेको स्रोत व्यक्ति घिमिरेले जानकारी दिए।

पछिल्लो समय सङ्क्रमणको दरमा केही कमी आएको छ । अस्पतालमा पनि कोरोना सङ्क्रमितको संख्या घट्दै गएको छ।