अल्पमतले ल्याएको बजेटका लागि छलफल आवश्यक नरहेको भन्दै लुम्बिनी प्रदेश विपक्षी गठबन्धनले बैठक बहिष्कार गरेको छ ।
असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको थियो । सोही बजेटमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको आज (आइतबार) को बैठक राखिएको थियो ।
प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेशसभाले लिने कि नलिने भन्दै सरकारको वैधतामाथि कडा रूपमा पश्न उठाए ।
विपक्षी गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै बैठकबाट उठेर हिँडेका थिए ।
विपक्षीले बैठक बहिष्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेका हुन् ।