logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारविरुद्ध आन्दोलन गर्ने विपक्षी गठबन्धनको सहमति


अंकुरण खबर
1.235K
Shares

प्रतिनिधिसभा विघटनको विरोध गर्दै विपक्षी गठबन्धनले सडक आन्दोलन गर्ने भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार राति बसेको गठबन्धनको बैठकले आन्दोलन गर्ने सहमति गरेको हो । भौतिक दूरी कायम गर्दै देशका प्रमुख शहरमा सडक प्रदर्शन गरिने जनाएको छ।

आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाइने भएको छ। त्यस्तै, भातृ संस्था पनि परिचालन गरिने जनाएको छ।

बैठकमा देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए। बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसका विरुद्ध विपक्षी गठनबन्धका १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। त्यसमा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ।

अब विपक्षी गठबन्धनले सडक आन्दोलन पनि गर्ने भएका हुन्। यसका कोरोनाका कारण लगाइएको निषेधाज्ञाले सडक प्रदर्शन गर्न सकेका थिएनन्।