माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग आफूहरूलाई तुलना नगर्न आग्रह गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सम्पादकहरूसँगको अन्तक्र्रियामा प्रचण्डले जसरी पनि सत्तामा टाँसिन चाहने ओलीसँग आफूहरूलाई उस्तै उस्तै हुन् भन्न नमिल्ने बताए ।
आफूले प्रधानमन्त्रीका रूपमा सामान्य प्रश्न उठ्दा पनि सहजै पद छाडेको उनले उल्लेख गरे । ‘तर, जस्तोसुकै हर्कत गरेर पनि पद छाड्दै नछाड्ने ओलीसँग हामी कसरी उस्तै उस्तै हुन्छौँ । सबै उस्तै उस्तै हुन् भनिदिँदा हामीमाथि साह्रै ठूलो अन्याय भएको छ,’ उनले भने ।
भिलेनको भूमिका खेलेर लोकतन्त्रवादी सबै शक्तिलाई एक ठाउँमा आउने वातावरण बनाइदिएकामा केपी ओलीलाई धन्यवाद दिनुपर्ने उनले बताए । ‘उहाँले राष्ट्रमा भिलेन खेल्नुभएको कुरा जनताले पनि थाहा पाएका छन्,’ प्रचण्डले भने, ‘हाम्रो सिद्धान्तहीन गठबन्धन होइन, केवल शास्त्रार्थका लागि मात्रै गठबन्धन होइन । यो ०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि सुरु भएर विकसित हुँदै आएको गठबन्धन हो । यसमा शंका गर्नुपर्दैन ।’