गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्य रक्षालाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन्।
पोखरा महानगरपालिकाको नवौं नगरसभामा आज (बिहीबार) बोल्दै मुख्यमन्त्री पोखरेलले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने विश्वास दिलाए।
संघ सरकारबाट भइरहेका प्रयासबाहेक निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानबारे गण्डकी प्रदेशले अध्ययन गरिरहेको उनले जानकारी दिए।
स्थानीय तह लोकतन्त्र र संघीयताको आधारस्तम्भ भएको उल्लेख गर्दै त्यसलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्नेमा उनले जोड दिए।
संविधानले व्यवस्था गरेका साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनुपर्ने उनको भनाइ थियो। पारदर्शिता र उत्तरदायित्वसहितको नागरिक शासन भए मात्र कुनै पनि शासन व्यवस्था सुदृढ हुने धारणा व्यक्त गर्दै उनले राजनीतिक नेतृत्वले यसलाई मनन गर्न सुझाए।
पछाडि परेका वर्ग, क्षेत्रको उत्थानका लागि पनि स्थानीय सरकार र प्रदेश सरकारबीच सहकार्य जरुरी रहेको उल्लेख गर्दै प्रदेश र स्थानीय तहमा अझै पनि जनशक्ति व्यवस्थापन ठूलो चुनौती रहेको उनले बताए।
यस किसिमको समस्या समाधानका लागि संघीय सरकारले छिटो निजामती सेवा ऐन ल्याउनुपर्ने धारणा मुख्यमन्त्री पोखरेलको थियो। उनले प्रदेश समृद्धिको मुख्य आधार पर्यटन नै भएकाले पोखरालाई पर्यटकीय नगर घोषणा गरेर जानुपर्ने र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने विश्वास उनले दिलाए।
फेवा तालको सिल्टेसन ड्याम निर्माण, लामे आहालमा प्रदेशस्तरीय बसपार्क स्थापना, अमेरिकी प्रविधिबाट बनेका अस्फाल्ट पिचलगायत विभिन्न पूर्वाधार निर्माणमा पोखरा महानगरसँग प्रदेशको साझेदारी र सहकार्य हुँदै आएको जानकारी दिँदै उनले आगामी दिन त्यस्ता कुरा अझै बढेर जाने बताएका छन् ।