logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेट पारित गर्न नसकेपछि लुम्बिनीको अधिवेशन अन्त्य


अंकुरण खबर
1.859K
Shares

लुम्बिनी सरकारले बजेट पारित गर्न नसकेपछि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ।

बिहीबार प्रदेश सभा बैठक छाडेर हिडेका मुख्यमन्त्री शंकर पोखरेलले मध्यराति प्रदेश सभा अधिवेशन अन्त्य गराएका हुन्। सरकारको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यरातिदेखि प्रदेश सभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जनाएका छन्।

बिहीबार बजेट पारित गर्ने कार्यसूची रहेको थियो। बजेट पारित गर्न बहुमत नभएपछि केहीबेर छलफल गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेल प्रदेश सभाबाट बाहिरिएका थिए।

त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए। साँझ साढे ५ बजे बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो। तर, प्रदेश सरकारले मध्यरात संसद अधिवेशन अन्त्य गरेको हो।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्। विपक्षी गठनबन्धनले पटकपटक अविश्वास प्रस्ताव दर्ता गराए पनि मुख्यमन्त्री पोखरेल छल्दै आएका छन्।

अहिले लुम्बिनी प्रदेश सभामा ८३ सदस्य छन्। बहुमतका लागि ४२ सांसद चाहिन्छन्।

मुख्यमन्त्री पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका तीन गरी ४१ सांसद मात्रै छन्। विपक्षमा कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक गरी ४२ सांसद छन्।

आफ्नो पक्षमा बहुमत नहुँदा बजेट पारित नहुने भएपछि मुख्यमन्त्री पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश सभामा विपक्षी दलले कुनै अवरोध गरेका थिएनन्।