मकवानपुरको एउटै कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।
भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो । कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले जानकारी दिए ।
बुधबार र बिहीबार गरिएको परीक्षणमा ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो । कैदीबन्दीहरुलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कैदीबन्दीमा कोरोना पुष्टि भएपछि कारागारमा रहेका सबै कैदीबन्दीमा कोरोना परीक्षण गरिएको थियो ।
कोराना पुष्टि भएका संक्रमितहरुमा कुनै किसिमको लक्षण भने नदेखिएको उपाध्यायले बताए । पुष्टि भएको संक्रमितहरुलाई कारागारभित्रै छुट्टै ब्लकमा स्वास्थ्यकर्मीको निगरानीमा निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।