logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिने : पम्फा भुसाल


अंकुरण खबर
1.469K
Shares

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छन् ।

बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकी हुन् ।

विद्युत्को घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।

‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहीँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनका निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्धेश्यद्वारा त्यसको तयारी गरेको छु मैले ।’

ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिंचाइ पुर्‍याउनका निम्ति पनि आफू क्रियाशील रहने बताए ।

सिंचाइ निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनको भनाइ थियो ।

सिंचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।