कोरोना संक्रमण बढिरहेका वेला उपत्यकाभित्र मास्क नलगाई हिँड्ने क्रम अझै बढेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार गरेको अनुगमनका क्रममा मास्क नलगाई हिँड्ने ६ सयभन्दा बढीलाई नियन्त्रणमा लिएको छ।
संक्रमण बढिरहेको वेला सहरबजार खुला राख्नुपर्ने बाध्यतात्मक अवस्था भएकोले यो समय स्वास्थ्य सुरक्षामा ध्यान दिन प्रशासनले अनुरोध गरेको छ।
तर, उपत्यकावासीले पछिल्लो समय मास्क पनि नलगाई ओहोरदोहोर गर्न थालेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
उनका अनुसार मास्क नलाउनेमाथि कारबाहीका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।
मास्क नलगाई घरबाहिर निस्केकाहरूलाई प्रहरीले पाँच मिनेट सडकमै होल्ड गरी सम्झाइबुझाई गरी छाडेको छ।
‘अहिले बजारमा सबैखाले अनुगमन र निगरानी बढाएका छौँ, खाद्य तथा दैनिक उपभोग्य वस्तुको मुल्य स्थिर नै छ,’ उनले भने, ‘विनामास्क सडकमा निस्कनेको संख्या भने बढेको पाइयो, मास्क नलगाउनेमाथि कारबाही हुन्छ।’
त्यस्तै प्रशासनले कोचाकोच यात्रु चढाउने सवारीसाधनमाथि कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
उनले मानिसको भिडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन दिइएको छ।
तैपनि मानिसको ओहोरदोहोर बढ्दो छ। ‘अहिले बजार अनुगमनमा जोड दिएका छौँ,’ उनले भने, ‘मास्क नलगाई हिँड्ने, तोकिएको मूल्यभन्दा बढीमा सामान किनबेच गर्ने र सार्वजनिक यातायातमा कोचाकोच यात्रु चढाउनेलाई कारबाही सुरु गरिएको छ।’