जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि अर्को केपी ओली बन्ने बताएका छन्।
समाजवादी केन्द्र नेपालद्वारा बिहीबार राजधानीमा आयोजित ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा उनले वैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिँदै नयाँ केपी ओली बन्नबाट बच्नुपर्ने बताएका हुन्।
डा. भट्टराईले जनहितलाई केन्द्रबिन्दुमा राखेर २१औं शताब्दीको मार्क्सवाद र समाजवादअनुसार कम्युनिस्ट पार्टीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा धारणा पनि उनले व्यक्त गरेका छन्।
कम्युनिस्टहरुका लागि अहिलेको सबैभन्दा ठूलो समस्या नै वैचारिक रूपमा समाजवादको धारणा तय गर्न नसक्नु भएको उनको भनाइ थियो।
विधि र पद्धतिमा चल्न छाडेको, महाधिवेशनबाट चुनिनुको सट्टा टीका लगाएको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको अवस्थाले कम्युनिस्ट पार्टी कमजोर बन्दै गएको उनले बताए।