logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान


अंकुरण खबर
910
Shares

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ।

सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले बिदाइ गरेका थिए।

ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो।

यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छन्।

ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्ने तय भएको क्यानका अध्यक्ष चन्दले जानकारी दिए।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ।

नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ। नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ।