logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको सनाखत


अंकुरण खबर
2.34K
Shares

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको सनाखत भएको छ।

निर्वाचन आयोगमा बुधबार सो पार्टीका नेताहरु तथा सांसदहरुको सनाखत भएको हो।

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टी विहिन अवस्थामा पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाउने भएको छ।

सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफुहरुको पार्टी विधिवत् रुपमा दर्ता भएको बताए।

अब पार्टीको मूल्य, मान्यता अनुसार पार्टी आगामी दिनमा संघर्ष गर्दै अगाडी बढ्ने उनले बताए। उनले भने–‘सांसदको हकमा १४ जना सांसद सनाखत गरे। ८ जना चाहिएको थियो, १४ जना सांसद सनाखत गरे, झण्डै ३७ प्रतिशत भयो। कार्यकारिणी समितिमा पुरानो ५१ जनामा १७ जनाको सनाखत भयो। ३३ प्रतिशत सनाखत भयो। चाहिएको भन्दा बढी उपस्थित भएर सनाखत गरेका हुन्। आज विधिवत् रुपमा हाम्रो पार्टी साइकल चिन्हसहित लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको छ। अब आफ्नो मूल्य मान्यता अनुसार विगतमा बढ्न पाइरहेको थिएन र यो मूल्य, मान्यताको लागि पार्टी आगामी दिनमा संघर्ष गर्छ।’

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले आफुहरुको माग र मुद्धामा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट प्रतिवद्धता व्यक्त गरेका कारण वर्तमान सरकारलाई समर्थन गरेको भन्दै सो माग र मुद्धाको सम्बोधनका आधारमा सरकारसँग सहकार्यका कुरा अगाडी बढ्ने बताए।

उनले भने–‘शेरबहादुरजीले सहयोगको अपेक्षा गरे। हामीले हाम्रा केही कुराहरु राखेका थियौँ त्यो कुरा उहाँले संसदमा ति कुराहरुको प्रतिवद्धता व्यक्त गरेको आधारमा हामीले यो सरकारलाई विश्वासको मत दिएको हो। यो सरकारप्रति हाम्रो धारणा सकारात्मक रहनेछ र हामी सहयोगी भुमिका रहनेछ। अहिलेसम्म हामीले सरकारको बारेमा सोचेका छैनौँ। माग, मुद्दाको समर्थन र सम्बोधनको आधारमा हाम्रो सरकारसँग सहकार्यका कुराहरु अगाडी बढ्छ।’