logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभाजनको पक्षमा नलाग्न नेता तथा कार्यकर्तालाई एमालेको निर्देशन


अंकुरण खबर
676
Shares

नेकपा एमालेले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई २२ भदौसम्म दल छान्न पाउने समयसीमा दिएपछि एमालेले निर्देशन दिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीले अहिले असहज स्थितिको सामना गर्नु परेको बताउदै विभाजनमा नलाग्न निर्देशन दिएका छन् ।

गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरेको एमाले निर्देशनमा  पार्टीको भूमिका बदलिएको र एमाले सत्तापक्षबाट प्रतिपक्षमा रुपान्तरित भएको उल्लेख छ ।

स्वार्थहरूको गठजोड एवं ईर्ष्या, कुण्ठा र प्रतिशोधको भावनामा उभिएको वर्तमान सत्तापक्षीय गठबन्धन आधारभूत रुपमा अवसरवादी एवंम दक्षिणपन्थी चरित्रको भएको ओलीको आरोप छ ।

सत्तापक्षीय गठबन्धनले मुलुकको समस्या समाधान गर्न नसक्ने भन्दै एमालेले बरु मुलुकलाई पश्चगामी दिशातिर फर्काउने आशंका बलियो बन्दै गएको जनाएको छ । यस्तो परिस्थितिमा नेकपा (एमाले) लाई जनमतको बलमा राष्ट्रिय राजनीतिको नेतृत्वदायी स्थानमा स्थापित गर्ने संकल्प गरेको पनि ओलीले उल्लेख गरेका छन् ।