logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सक्रिय राजनीतिबाट विश्राम लिने पूर्वमन्त्री बाँस्कोटाको घोषणा


अंकुरण खबर
1.222K
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी सुरु भएका बेला पूर्वमन्त्री एवं पार्टी नेता दीपकप्रकाश बाँस्कोटाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।

लामो समयदेखि पार्टीको महासमिति सदस्यका रूपमा क्रियाशील पूर्वगृह राज्यमन्त्री बाँस्कोटाले आज विज्ञप्ति जारी गरी सक्रिय राजनीतिबाट विश्राम लिएर वैचारिक राजनीति र समाजसेवामा सक्रिय हुने घोषणा गरेका हुन् ।

“साउन ११ गतेदेखि ७३ वर्ष पूरा भएर ७४ वर्ष प्रवेश गरेँ, ५२ वर्षको राजनीतिक जीवनबाट विश्राम लिँदैछु, विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरेँ, २०६४ सालदेखि सामान्य क्रियाशील थिएँ”, विज्ञप्तिमा नेता बाँस्कोटाले उल्लेख गरेका छन् ।

विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्रीका रूपमा काम गरेका थिए । पार्टीको १४औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा क्रियाशील नभई लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई पृष्ठपोषण गर्न वैचारिकरूपमा काम गरी पुस्तान्तरण गर्ने निर्णय गरेको उनले बताए ।

“पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी हुन्नँ, बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूर्ण जीवन अर्पण गर्छु”, पूर्वमन्त्री बाँस्कोटाले भने ।

वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, सङ्घ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उनको योजना छ । यसका लागि नेपाल सरकार, राजनीतिक दल, विश्व हिन्दू महासङ्घलगायत सामाजिक संस्था, विश्व ॐ कार एकता महाअभियान जस्ता अभियानसँग विनाशर्त सहकार्य गर्ने घोषणा पनि नेता बाँस्कोटाले गरेका छन् ।