logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : फेरि सर्‍यो वडा र पालिका अधिवेशन मिति


अंकुरण खबर
598
Shares

नेपाली कांग्रेसको निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशनको मिति सं‌शोधन हुने भएको छ।

समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह (पालिका) हरुको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे पनि पार्टीले यो तालिका संशोधन गर्ने निर्णय गरेको छ।

कांग्रेस नेता मिन विश्वकर्माका अनुसार पार्टीले १८ भदौदेखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने गरी निर्णय भएको बताए।

त्यसपछिका अधिवेशनहरु भने आयोगले तोकेकै मितिमा हुने उनको भनाइ छ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक भइनसकेको र कतिपय जिल्लामा व्यवस्थापन समस्या भएको भन्दै वडा र पालिका अधिवेशनको मितिमा लचक बन्ने निर्णय भएको उनको भनाइ छ।

कांग्रेसले हालसम्म ५६ जिल्लाको मात्र क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ। २१ जिल्लामध्ये आज थप तीन जिल्लाको विवरण सार्वजनिक गर्ने तयारी कांग्रेसले गरेको छ।

निर्वाचन समितिका संयोजक महादेव यादवले भने वडा र पालिका अधिवेशन क्रमशः १८ र २७ भदौमै हुने बताउँदै आएका छन्।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ।