logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधानको रक्षा गर्दै मुलुकलाई समाजवादतिर डोर्‍याउनु आजको आवश्यकता : खनाल


अंकुरण खबर
1.625K
Shares

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संविधानको रक्षा, लोकतान्त्रिक मूल्यमान्यताहरूको रक्षालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि बढाउनु नै आजको आवश्यकता भएको बताएका छन्।

संविधान दिवसको अवसरमा आज (आइतबार) एक शुभकामना सन्देश जारी गर्दै खनालले संविधानलाई असफल बनाउन अस्थिरतावादी तत्वहरुबाट भइरहेका विभिन्न षड्यन्त्र तथा संसद चल्न नदिने अराजकतावादी प्रवृतिविरुद्ध दृढतापूर्वक संघर्ष गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले नेपाली जनताको सात दशक लामो अथक संघर्ष, त्याग र बलिदानको परिणाम स्वरूप सामन्तवादको प्रतिनिधिको रुपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै संविधानमार्फत संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको स्मरण गरे।

‘यस संविधानमार्फत नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रताजस्ता आधारभुत अधिकारहरु समेत सुनिश्चित गरेका छौं,’ शुभकामना सन्देशमार्फत उनले भनेका छन्, ‘विभिन्न वर्ग, जाति, धर्म, सस्कृति र परम्परा मान्ने विभिन्न क्षेत्रका सम्पूर्ण नेपालीहरुको हक र अधिकारलाई समेत हामीले संविधानमै संस्थागत गरेका छौं।’

यसबीचमा संविधानमाथि एकपछि अर्को कुठाराघात गरिएको र सर्वोच्च विधायिकालाई पटकपटक असंवैधानिक रुपले विघटन गरिएकाप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

लोकतान्त्रिक प्रक्रियालाई खल्बल्याउने र मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोजिएको उल्लेख गर्दै उनले नेकपा एकीकृत समाजवादीलगायत सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायलयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरतातिर फर्केको उनको भनाइ छ।

नयाँ गठबन्धन सरकारबाट संविधानबमोजिम मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भइरहेको पनि उनले बताएका छन्।