logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति भण्डारी


अंकुरण खबर
819
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् ।

सोमबार बिपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरको टोलीलाई बिदाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

नेपालजस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु–गराउनु अझै पनि चुनौतीको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताइन् । उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीको रूपमा देखापरेको बताइन् ।

राष्ट्रपति भण्डारीले वातावरण प्रदूषण, विषादीयुक्त खाद्यपदार्थ, सुर्ती तथा मादकपदार्थ सेवनलगायत अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको बताइन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्यप्रति खुसी पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले  क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको पनि उनले बताइन् ।