लुम्बिनी प्रदेशको मन्त्रिपरिषद आज (आइतबार) विस्तार गरिने भएको छ।
कांग्रेस र माओवादी केन्द्रले मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लगाएसँगै मन्त्रिपरिषद विस्तार हुने भएको हो। आजै मन्त्रीहरुलाई शपथ गराउने कार्यक्रम पनि तय भएको छ।
कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्ने भएका छन्। कांग्रेसले कपिलवस्तुकी रिना नेपाल विक र अर्जुनकुमार श्रेष्ठलाई राज्यमन्त्री बनाउन लागेको कांग्रेस संसदीय दलले बताएको छ।
कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री भइसकेका छन्। कांग्रेस प्रदेश संसदीय दलले वन वातावरण तथा भूसंरक्षणमन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका वसिउद्दिन खाँलाई पठाउने निर्णय गरिसकेको छ।
माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो यसअघि नै लागिसकेको छ। दाङकी विमला खत्री वली पनि माओवादी केन्द्रबाटै राज्यमन्त्री बन्ने भएकी छन्।
माओवादी केन्द्रबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री छन्। माओवादी केन्द्रको भागमा आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ।
लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन्। यसअघि मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक गरी सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।
भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय जनता समाजवादली पार्टी (जसपा)को भागमा परेको छ। स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन्।
नेकपा (एकीकृत समाजवादी)बाट लुम्बिनीमा रमा घर्ती एक मात्र सांसद हुन्। उनी पनि मन्त्री बन्ने भएकी छन्।