निवर्तमान प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकार पैसा र पदको सट्टापट्टामा चलेको गम्भीर आरोप लगाएएका छन् ।
झापा विर्तामोडको सिटी सेन्टरमा बुधबारआयोजित चाडपर्व शुभकामना आदानप्रदानमा बोल्दै ओलीले अहिले पैसा चलन नहुँदा सामान साटफेर गरेझैं अहिले अदालत र सरकार सट्टापट्टामा लागेको आरोप लगाएका हुन् ।
उनले सरकारको आलोचना नगर्ने भन्दै आफ्ना भनाई सुरु गरे पनि सरकारलाई कटाक्ष गर्न छुटानन् । तर एमालेबाट अलग भएको नेकपा एकीकृत समाजबादी र अरु दलप्रति भने टिकाटिप्पणी गरेनन् । ओलीले तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको भन्दै सरकारको कार्यशैलीको हाँसो उडाए । यसरी ढिलासुस्ती काम गर्ने सरकारले देश र जनताको हितमा कुनै काम गर्न नसक्ने उनको जिकीर थियो।
दशैं लगायतका चाडपर्वले नेपाली समाजलाई एकता र सद्भावमा उन्ने मालाको काम गरिरहेको उनको भनाई थियो । सरकारका मुख्य अंगहरु आफ्नो मर्यादामा बस्नु पर्ने बताउदै उहाँले आफ्ना लागि मात्र होइन देश र जनताका लागि काम गर्नु पर्ने बताए । भन्न सजिलो छ तर व्यवहारमा गाहे हुने अध्यक्ष ओलीको भनाइ छ । उनले भने – ‘त्यसैले व्यावहारिक लोकतन्त्रको अभ्यास गर्न यो वडादशैँले सबैलाई सदबुद्वि देओस् ।’
प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव बिनोद ढकाल, राष्ट्रिय सभाकी सांसद् कोमल ओली, प्रतिनिधिसभाकी सांसद् विमला बिक, अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल, जनता समाजबादी पार्टी झापाका अध्यक्ष सूर्यनारायण गणेश लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।