१७ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध कायम राखेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारवाही प्रारम्भ भएको बताउनासाथ एमाले सांसदहरू रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गरिरहेका छन् ।
प्रतिनिधिसभाको पछिल्लो बैठक २५ असोजमा बसेको थियो । दसैं बिदापछि ९ कात्तिकका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेकै आग्रहका कारण सूचना टाँसेर बिहीबार सारिएको थियो ।
९ कात्तिकमा आफ्नो पार्टीको पालिका अधिवेशन तय भएकाले बैठक पछाडि सार्न एमालेले आग्रह गरेको थियो ।
बिहीबारको बैठकमा मन्त्रीहरूको कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र प्रतिनिधिसभा बैठकमा सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यतालिका छ ।