नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम चाँडै सम्पन्न गर्ने पुनः प्रतिबद्धता जनाएका छन्।
विस्तृत शान्ति सम्झौता भएको आइतबार १५ वर्ष पूरा भएको अवसरमा सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डले युद्धलाई शान्तिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको र अब बाँकी काम पनि चाँडै सक्ने बताएका हुन्।
‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ’, आइतबार प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजसम्मका राजनैतिक उपलब्धीहरूप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौं। यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो, यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं।’