एमाले नेता लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी भूमिकाबाट बिदा लिने बताएका छन्।
उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा लिने बताएका हुन्। उनले पार्टीसम्बद्ध निर्वाचन आयोगले विजयीको घोषणा गर्न बाँकी रहे पनि विजयी सबैलाई शुभकामना पनि दिएका छन्।
‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना,’ उनले फेसबुकमा लेखेका छन्।
एमालेको जारी १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले नयाँ नेतृत्वका लागि बनाएको सूचीमा नसमेटिएपछि पण्डित असन्तुष्ट बनेको जनाइएको छ। खुला केन्द्रीय सदस्यमा भने उनको नाम समेटिएको छ।
उनले पदाधिकारी बन्ने आकांक्षा राखेका थिए। उपाध्यक्षमा आफ्नो दाबी रहने उनले बताएका थिए। सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा जुनसुकै पदमा बस्न तयार भएको पनि उनले बताएका थिए।