logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित


अंकुरण खबर
884
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि कठिन जित निकालेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । आफ्नो टोलीलाई कठिन जित दिलाउने क्रममा क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको ८०० औं गोल पूरा गरे ।

ओल्ड ट्राफोर्डमा एक गोलको सुरुआती अग्रता उल्टाएर युनाइटेडले जित निकालेको हो । जसमा युनाइटेडका पोर्चुगिज सुपरस्टार रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको १३ औं मिनेटमा इमिल स्मिथले गोल गर्दै पाहुना टोली आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा अर्का पोर्चुगिज खेलाडी ब्रुनोे फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ५२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २–१ ले अगाडि पुर्याए ।

खेलको ५४ औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २–२ को रोमाञ्चक अवस्थामा पुग्यो । तर, खेलको ७० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे । सो गोल नै निर्णाय बन्यो । र, खेल युनाइटेडले ३–२ ले जित्यो । यससँगै रोनाल्डोले पनि आफ्नो करियरको ८०० गोल पूरा गरेका हुन् ।

यस जितसँगै लिगको सातौं स्थानमा रहेको युनाइटेडले १४ खेलमा २१ अंक जोडेको छ । आर्सनल २३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । गएराति नै भएको अर्को खेलमा टोटनहम हटस्परले बे्रन्टफर्टमाथि २–० ले हराएको छ ।