बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार कोहलपुर नगरपालिका वडा नं. ८ का ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
मंसिर ९ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन अस्पताल भर्ना गरिएको थियो। उनको सोमबार दिउँसो साढे दुई बजे मृत्यु भएको छ। योसँगै हालसम्म बाँकेमा कोरोनाबाट ३ सय ४५ जनाको मृत्यु भएको छ।
यसैबीच बाँकेमा सोमबार ६७ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको छ। भेरी अस्पतालमा ४९ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको हो।
कोहलपुर मेडिकल कलेजमा १३ र बागेश्वरी ल्याबमा ५ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन। बाँकेमा कोरोनाका दुई जना सिकिस्त र तीन जना मध्यम बिरामी छन्। जिल्लामा ११ जना सक्रिय संक्रमित रहेका छन्।