कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन च्याम्पियनसिप खेल्ने ८ टोली सार्वजनिक भएको छ ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले बिहीबार एक कार्यक्रमका बीच च्याम्पियनसिप खेल्ने ८ टोलीको घोषणा गरेको हो । च्याम्पियनसिप ६ देखि ९ पुससम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
सार्वजनिक भएको टोलीमा च्याम्पियनसिपको मुख्य प्रायोजक कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत् प्राधिकरण रहेका छन् । यस्तै टोलीले बिहीबार गोलाप्रथाको आधारमा यसअघि सार्वजनिक गरिएको नेपालको शीर्ष वरीयताका समान ८ पुरुष र महिला खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरेको छ ।
नेपाल राष्ट्र बैंकमा पुरुषतर्फको दोस्रो वरीयताका दिपेश धामी र महिलातर्फको दोस्रो वरीयताकी अमिता गिरी आबद्ध भएकी छन् । आइएमई ग्रुपमा आठौं वरीयताका नवीन श्रेष्ठ र शीर्ष वरीयता नङ्सलदेवी तामाङ रहे ।
नेपाल टेलिकममा शीर्ष वरीयताका रत्नजित तामाङ र नवौं वरीयताकी सीमा राजवंशी र सिल्क ग्रुपमा तेस्रो वरीयताका विकास श्रेष्ठ र तेस्रो वरीयताकी अनुमाया राई आबद्ध भएका छन् । यस्तै नेपाल आयल निगममा चौथो वरीयताका विष्णु कटुवाल र चौथो वरीयताकी रसिला महर्जन अनुबन्धन भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणमा छैटौं वरीयताका दीपक बोहरा र छैटौ वरीयताकी शोभा गौचन तथा कान्तिपुर पब्लिकेशनमा चौथो वरीयताका साजन कृष्ण ताम्राकार र १०औं वरीयताका सम्झना शर्मा र कुमारी बैंकमा छैटौ वरीयताका सुदिप सेढाई र सातौं वरीयताकी सुनैया मुखिया आबद्ध भएका छन् ।
पाँचौं वरीयताका जेसिका गुरुङ र आठौं वरीयताकी सीता माया राई चोटका कारण टोली बाहिर रहने भएपछि नवौं वरीयताका सीमा र १०औं वरीयताकी सम्झनाले च्याम्पियनसिप खेल्ने अवसर पाएका हुन् ।
च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ । ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ ।
पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्पोरेट्स डबल्समा कर्पोरेट हाउसमा दुई वर्ष कार्यरत र पुरुष डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट हाउसमा आबद्ध तथा महिला डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट हाउसमा आबद्ध खेलाडी हुनुपर्नेछ ।
करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५०० सय पाउनेछन् ।
खेलाडीको आयस्रोत वृद्धि गर्ने उद्देश्यले वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।
टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।