नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले भने, ‘सावधान १ देशमा कालो मादल मडारिएको छ ।’
राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।
एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप लगाए ।
नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । त्यस्तै नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोल्न उनले सुझाव दिए ।
उनले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफ दिँदै नेपालले यस्तो चेतावनी दिएका हुन् ।