logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग शुक्रबारबाट पाँचौँ चरणका खेल हुने


अंकुरण खबर
702
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् ।

दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबार सम्म आयोजना हुनेछ ।

एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ ।

शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोखरामा हुनेछ ।

दोस्रो दिन अर्थात ३ गते शनिबार तीन खेल हुनेछ । दशरथ रंगशालामा दुई खेल हुँदा पोखरामा एक खेल हुनेछ ।

च्यासल युथ क्लब र जावलाखेल युथ १ बजे दशरथ रंगशालामा भिड्दा पोखरामा मनाङ मर्याङ्गदी क्लबले २ बजे नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ ।

आइतबार हिमालयन शेर्पा क्लबले ब्रिगेड व्बाईज क्लब (बीबीसी) को सामना गर्दा अन्तिम दिन सोमबार फ्रेण्ड्स क्लब र एपीएफ फुटबल क्लब आमनेसामने हुनेछन् । दुबै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

जारी लिगमा समान १० अंक भए पनि मछिन्द्र फुटबल क्लब मनाङ मर्याङ्गदी क्लबलाई पछि पार्दै शीर्ष स्थानमा छ । समान आठ अंकको आर्मीले संकटालाई पछि पार्दै तेस्रो स्थान ओगटेको छ ।

सात अंकको सातदोबाटो पाँचौँ स्थानमा छ । समान पाँच अंकका थ्री स्टार, बीबीसी, नेपाल पुलिस, न्युरोड टिम एनआरटी क्रमशः छैटौं, सातौँ, आठौं र नऔ स्थानमा छन् । पाँच अंकको च्यासल दशौं स्थानमा रहँदा समान दुई अंकका फ्रेण्ड्स र हिमालयन शेर्पा क्लब क्रमशः ११औं र १२औं स्थानमा छन् ।

अन्तिम खेलमा एक अंक जोडेको जावलाखेल र एपीएफ क्रमशः १३औं र १४औं स्थानमा छन् ।