नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेटिङमार्फत एमाले अध्यक्ष केपी ओलीको राजनीति बचाएको दाबी गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एउटा सेटिङ अन्तर्गत ओलीको राजनीति बचाइएको बताएका हुन् ।
निर्वाचन आयोगले कानुन अनुसार काम गरेको भए ओली पार्टीविहीन हुने उनको दाबी छ ।
आयोगले कानुनअनुसार निर्णय लिएको भए ओली पार्टीविहीन, चुनाव चिन्हविहीन बन्नुहुने थियो,’ प्रचण्डले भने, ‘तर, एउटा सेटिङ अन्तर्गत उहाँलाई बचाइयो ।’ प्रचण्डले कसले कोसँग कस्तो सेटिङ गरेको हो भन्ने बारेमा केही खुलाएनन् ।
ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन भएको दाबी गरेका प्रचण्डले ओली अहिले प्रतिगमनकै बाटोमा रहेको आरोप लगाए ।