नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ ।
बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५–५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्यो ।
नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३–२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३–० को जित निकालेको थियो ।
जितसंगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । महिला टोलीले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १ः१५ मा हुनेछ ।
शनिबार नै हुने पुरुषतर्फको खेलमा नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ः४५ मा हुनेछ ।