logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवामा एकता तथा मेलमिलाप दिवस मनाइयो


अंकुरण खबर
650
Shares

४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस रसुवामा पनि मनाइएको छ । नेपाली कांग्रेस रसुवाले सदरमुकाम धुन्चेमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस रसुवाका नेता तथा अगुवा कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रमलाई नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, नेताहरू उपेन्द्र लम्साल, लामाकार्पु तामाङ, ओम आचार्य, बुचुङ तामाङ, सोनावाङ्दी तामाङ, नुर्बुसाङ्बो घले, फुर्पुवाङ्दी तामाङ, महिला नेतृ सुनितामाया गुरुङ, सार्किबुट्टी तामाङले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा बिपीको योगदानको चर्चा गर्दै एकता र मेलमिलापको माध्यमबाट अघि बढ्नुपर्ने सन्देश दिनुपर्ने बताएका छन् । कांग्रेसमा एकताबद्ध भएर अघि बढ्न सबै नेता कार्यकर्तालाई आग्रह गरिएको छ ।

८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरू स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा अस्थिरता सुरु भएको थियो । बिपीसहित विभिन्न नेताहरू ७ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा जानु गएका थिए ।

अस्थिरताका कारण मुलुकको अवस्था झनै कमजोर बन्दै गएपछि बिपीसहितका नेताहरू राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता तथा मेलमिलाप गरी देशको विकास गर्ने भन्दै फर्किएका थिए । राष्ट्रिय मेलमिलापको नीति बोकेर बिपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष कांग्रेसले यो दिवस मनाउँदै आएको छ ।