logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेखरले भने – सबै केन्द्रीय सदस्य योग्य नै हुनु हुन्छ, तर सभापतिज्यूले कुन मापदण्ड अनुसार मनोनयन गर्नुभयो जान्न चाहन्छौं


अंकुरण खबर
390
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गरेका हुन् ।

अनामनगर स्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्य समितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए ।

कोइरालाले महाधिवेशन पछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्ड अनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरे ।

‘महाधिवेशन पछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने ।

डा.कोइरालाले पार्टीलाई विधि र विधान अनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताए । उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी लगायतका नेताहरू सहभागी थिए ।