logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको जिल्ला कमिटी ७५ सदस्यीय बन्ने


अंकुरण खबर
1.235K
Shares

पाँचथरमा नेकपा एमालेको जिल्ला कमिटी ७५ सदस्यीय बन्ने भएको छ ।

हिजोबाट सुरू भएको एमाले जिल्ला कमिटीको आठौँ अधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष मण्डलले प्रस्ताव गरेअनुसार ७५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने भएको हो ।

एमालेको विधान तथा अन्तर पार्टी निर्देशनले एक संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा ९० जनासम्मको जिल्ला कमिटी निर्वाचित हुन सक्ने व्यवस्था गरे पनि पाँचथरमा ७५ जनाको कमिटी चयन गर्ने प्रस्ताव बन्दसत्रले पारित गरेको हो ।

७५ मध्ये पाँच जना पदाधिकारी तथा ७० जना सदस्य रहने छन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक जना तथा उपसचिव दुई जना निर्वाचित हुनेछन् । सबै पदाधिकारी खुल्ला क्षेत्रबाट निर्वाचित हुनेछन् ।

सदस्यहरू भने खुला, भूगोल र समावेशी समूहबाट निर्वाचित हुने एमालेका केन्द्रीय सदस्य एवं पाँचथरका इन्चार्ज वसन्तकुमार नेम्वाङले जानकारी दिए ।

जस अनुसार जिल्लाका सात गाउँपालिकाबाट एक जना महिला र दुई जना पुरुषका दरले तीन–तीन जना सदस्य, दलितबाट एक जना महिला र चार जना पुरुष गरी पाँच जना सदस्य, महिला खुलाबाट १५ जना सदस्य, आदिवासी जनजाति खुलाबाट सात जना सदस्य र खुला क्षेत्रबाट १६ जना सदस्य निर्वाचित हुनेछन् ।

हिजोबाट सुरु भएको बन्द सत्रमा कतिपय गाउँपालिकाहरूले भूगोलबाट निर्वाचित हुने तीन जना सदस्यहरू सहमतिमा टुङ्ग्याएका छन् भने कतिपयले टुङ्ग्याउन बाँकी छ ।

अधिवेशन अन्तर्गत मतदाता (प्रतिनिधि) प्रकाशन सहित निर्वाचनका कार्यक्रम आजै दिउँसोबाट सुरू भएको छ ।

एमाले पाँचथरको अध्यक्षमा राजकुमार भण्डारी सर्वसम्मत निर्वाचित हुने सम्भावना छ । अहिले सम्म अध्यक्ष पदमा अर्को दावदार देखिएका छन् । तर, बाँकी चार जना पदाधिकारीका लागि भने १० भन्दा बढी आकांक्षी रहेको अधिवेशन प्रतिनिधिहरूले बताएका छन् ।

सहमतिमा नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकांक्षीहरूले आन्तरिक रुपमा मात्रै दाबी पेश गरिरहेका छन् ।