सुभास खकुरेलले अर्धशतक बनाएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गर्दै प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी – २० प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा ११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १५ ओभर चार बलमै सबै विकेट गुमाउँदै ६५ रनमा समेटिए पछि राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित बागमतीले महत्वपूर्ण दुई अंक जोडेको हो ।
लुम्बिनीका कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन बनाउँदा बसिर अहमदले ११ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । लुम्बिनीका तीन खेलाडी शून्यमा आउट भए ।
बागमतीका नन्दन यादवले सर्वाधिक तीन विकेट लिए । यस्तै रामनरेश गिरी, सुभास खत्री र तिलक भण्डारीले समान दुई विकेट लिँदा राजन ढकालले एक विकेट लिए ।
यस अघि मूलपानी मैदानमा भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बागमती प्रदेशले सुभास खकुरेलको अर्धशतकप्रेरित खेलको निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनायो ।
सुभासले ५३ बलमा तीन चौका र दुई छक्का सहित ५१ रन बनाए । यस्तै कप्तान मल्लले १९ रन बनाउँदा इशान पाण्डेले १३ रनको योगदान गरे । बागमतीका रामनरेश गिरी शून्यमा आउट भए ।
लुम्बिनीका दुर्गेश गुप्ता र अनिल खरेलले समान दुई विकेट लिए । यस्तै सिद्धान्त शाही, बसिर अहमद र विक्रम भुसालले समान एक – एक विकेट लिए । जितसँगै समूह ‘बी’ बाट बागमतीले २ अंक जोडेको छ ।