खेलकुद

ए डिभिजन लिगस् दोस्रो जितसँगै एपीएफलाई केही राहत

एपीएफ  फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई १- ० गोल अन्तरले पराजित गर्दै रेलिगशेन संकटबाट माथि उठ्ने सम्भावना जीवितै राखेको छ ।

आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जित निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा  नविन लामाको कर्नरमा आभाषले उत्कृष्ट हेड गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पिन सदुपयोग गर्न सकेनन् । शेर्पा विरुद्ध एपीएफले तीन विदेशी खेलाडी उतारेको थियो । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन ।

एपीएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार अकासिएको थियो ।

६३ औं मिनेटमा मिलनको कर्नरमा उलरिच सिइबीले गरेको हेड बाहिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो ।

७० औं मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपीएफले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

जारी लिगमा एपीएफको यो दोस्रो जित हो । यस अघि एपीएफले फ्रेन्डस क्लबमाथि जित हात पारेको थियो ।

हिमालयनको भने यो लगातार दोस्रो हार हो । हिमालयन पछिल्लो खेलमा थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

जित पछि एपीएफले नौ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ ।  समान खेलमा ११ अंक सहित हिमालयन शेर्पा छैटौं स्थानमा छ ।

Comment here