रुपन्देहीको भैरहवामा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजार सहित प्रदर्शन गरेको छ ।
जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र किसानले कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।
कृषि औजार कोदालो, फरुवा, हलो लगायतका समाग्री बोकेर र्याली सहित भैरहवाको बुद्धचोक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेका जनतम पार्टीका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
किसानको माग सम्बोधन गर्न उच्च स्तरीय समिति गठन, समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ ।
तीन सप्ताह देखि आन्दोलित किसानको जायज मागहरूलाई सरकारले हाल सम्म पनि पूर्ण रूपमा बेवास्ता गरिराखेको र उल्टै किसान आन्दोलन माथि दमन गर्न व्यापक बल प्रयोग गरेकाले आन्दोलनका कार्यक्रम तय गरिएको जनमत पार्टीका केन्द्रिय सचिव भुपेन्द्र यादवले बताए ।