logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीएम कपः अपराजित एपीएफ सेमिफाइनलमा


अंकुरण खबर
702
Shares

लुम्बिनी प्रदेश माथि सात विकेटको जित निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफको जितमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । २६ बल खेलेका आसिफले चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै प्रदीप ऐरीले ३६ रनमा बनाउँदा लोकेश बम सात र सन्दीप जोरा ९ रनमा अविजित रहे ।

लुम्बिनीका बसिर अहमेदले दुई र सिद्धान्त साहीले एक विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा अल आउट हुँदै १०४ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका देव खनालले सर्वाधिक ४३ रन बनाएका थिए । त्यस्तै सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंक बनाएनन् ।

एपीएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान दुई विकेट लिएका थिए । त्यस्तै कप्तान शरद भेषावकरको नाममा एक विकेट रह्यो ।

एपीएफले समूह बी का चार खेलबाट आठ अंक जोड्यो। तीन खेलमध्ये एकमा जित र दुईमा हारको नतिजा आत्मसाथ गरेको लुम्बिनी भने तालिकाको चौथो स्थानमा छ ।