सरकारले कोरोनाभाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै देशैभर निषेधाज्ञाको दायरा बढाएको छ।
मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐनले दिएको अधिकार प्रयोग गर्दै विभिन्न क्षेत्रहरू बन्द वा नियमन गर्ने आदेश जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार जानकारी दिए।
नेपालमा पछिल्लो २४ घण्टामा कुल परीक्षणको करिब ३६ प्रतिशतमा कोभिड देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्ले गरेका निर्णय
सङ्क्रमणदर ३६ प्रतिशत
नेपालमा थप ४,९६१ जना कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।
गत २४ घण्टामा १२,५६२ पीसीआर र २,५६९ एन्टीजन विधिबाट कुल १५,१३१ जनाको परीक्षण गर्दा करिब ३६ प्रतिशतमा कोभिड देखिएको हो।
“सङ्क्रमणदरले कोभिड-१९ को बढ्दो जोखिम पुष्टि भइरहेको अवस्था देखाउँछ। त्यसैले हामी सबै सतर्क रहँदै जनस्वास्थ्यका मापदण्ड अझ कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ,” मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले नियमित प्रेस ब्रिफिङमा भने।
काठमाडौं उपत्यकामा धेरै
नेपालमा हाल २५,६८० जना सक्रिय सङ्क्रमित रहेको र तीमध्ये ३,३४७ जना काठमाडौं उपत्यकामा रहेको मन्त्रालयको तथ्याङ्क छ।
मन्त्रालयका अनुसार अहिले आईसीयूमा १२२ जना र भेन्टिलेटरमा २९ जना बिरामी छन्।
विगत २४ घण्टामा कोभिड सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा २,५४५ जना काठमाडौंमा, ४७४ जना ललितपुरमा र ३२८ जना भक्तपुरमा नयाँ सङ्क्रमित थपिएका छन्।
नेपालमा पछिल्ला दिनहरूमा सङ्क्रमण दर निरन्तर बढिरहेको मन्त्रालयले जनाएको छ।
यसअघि शनिवार ३,७०३ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रवार ५,०८७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
अधिकारीहरूले पीसीआर विधिबाट जाँचिएका प्रत्येक चारमध्ये एकभन्दा बढी नमुनामा सङ्क्रमण पुष्टि भइरहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेका छन्।
बीबीसीको सहयोगमा