बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पछिल्लो १२ घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय वृद्धको गएराति मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार मधुवन नगरपालिका ६ का वृद्धको उपचारका क्रममा गएराति १०ः३० बजे मृत्यु भएको हो । भेरी अस्पतालमा यही माघ १० गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो । त्यहि दिनदेखि अस्पताल भर्ना भएर उपचार गरिरहेका थिए ।
यस्तै, कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका ५ का बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो । यही माघ ४ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसको भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।