नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की सोमबार फ्रान्सको नोर्मेन्डी जाने भएका छन् ।
१९औं आईएसएफ जिम्नासाइड स्कुल समर गेम्सको भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापनलगायत पक्षको निरीक्षण गर्न कार्की फ्रान्स जान लागेका हुन् ।
कार्की १ देखि ६ फेब्रुअरीसम्म फ्रान्समा रहने छन् । कार्की आईएसएफअन्तर्गत टेक्निकल कमिसन कोओर्डिनेटर तथा तेक्वान्दोका प्राविधिक प्रमुख समेत हुन् ।
गेम्स १४ देखि २२ मेसम्म फ्रान्समै हुँदैछ । २० खेल समावेश गेम्समा नेपालले ८ देखि १० खेलमा सहभागिता जनाउने कार्कीले जनाएका छन् ।
जसमा तेक्वान्दो, पौडी, टेबलटेनिस, डान्स स्पोर्ट्स, बास्केटबल र ब्याडमिन्टनमा नेपालको सहभागिता टुंगो लागिसकेको कार्कीले जानकारी गराए ।
कार्कीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा, दामोदर रेग्मी, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतले सिंहदबारमा आयोजित एक कार्यक्रमबीच शुक्रबार बिदाइ गरे ।