नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन् ।
उनले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन् ।
‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो । तर, हप्ता दिन अगाडी सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रिय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको आभास भइरहेको छ,’ उनले निर्वाचनको तयारीबारे कार्यकर्तासँग भएको छलफल कार्यक्रममा भने ।
उनले आज बसिरहेको कार्यसम्पादन सतितिको बैठक समक्ष भातृ संस्थालगायत विषयमा विधानको भावनालाई अक्षरशः कार्यान्वयनतर्फ लैजाने र कांग्रेस केन्द्रिय समितिको पूर्ण बैठक १५ दिनभित्र बोलाउन माग गरेका छन् ।
उनले पार्टी विधि र विधानभित्र रहेर अगाडि बढ्नुपर्ने समेत बताए । कुनै पनि संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता महरको ठहर जनाए ।
‘नेतृत्व विहिन भातृ संगठनलाई गति दिनका लागि समयमै ठोस निर्णय लिन आवश्यक छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेतृत्व विहिन भातृ संस्थालाई गति दिनुपर्छ । यसले स्थानीय तह निर्वाचनमा पार्टीका गतिविधिलाई सक्रिय पार्न महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने।