अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी १५ जेठमा हुने चुनावअन्तर्गत सी डिभिजन प्रतिनिधि छनोटमा अध्यक्षका प्रत्यासी पंकजविक्रम नेम्बाङको पकड बलियो देखिएको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको सी डिभिजन चुनावमा १४ क्लबमध्ये नाै क्लबबाट उपाध्यक्ष पंकज निकटले मताधिकार पाएका हुन् । सहभागी १४ क्लबबाट सी डिभिजनका नौ क्लबले मात्रै मताधिकार पाउनेछन् । जसकारण वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पंकजले दह्राे चुनाैती दिएका छन् ।
कर्मा निकट देखिएका रानीवन स्पोर्टस् क्लब, समाज कल्याण खेलकुद केन्द्र र स्पोर्टस् एकेडेमी साँगा भने सर्वाधिक कम तीन मत पाउँदै मताधिकारबाट बञ्चित भए ।
वीरगन्ज युथ एकेडेमी, महावीर क्लब, खालीवारी क्लब, स्वयम्भू क्लब, आरसी ३२ फुटबल एकेडेमी, मनोहरा युनाइटेड क्लब, प्लानिङ ब्वाइज युनाइडेट, ओसिस क्लब, पुल्चोक स्पोर्टसले भने मताधिकार पाएका छन् । सानेपा क्लब तदर्थ बस्दा झापा फुटबल क्लब भने चुनावमा सहभागी भएन ।
वीरगन्ज, महाविर, खालीवारी र स्वयम्भूले सर्वाधिक १२ मत पाए । यस्तै आरसी ३२ ले ११ मत पाउँदा मनोहराले १० मत पायो । प्लानिङ ब्वाइज, ओसिस, पुल्चोकले नौ मत पाए । यी नौ क्लबले आगामी एन्फा चुनावमा सी डिभिजन क्लबको प्रतिनिधित्व गर्दै भाग लिन पाउनेछन् ।
यता, बी डिभिजन लिगको समेत आजै चुनाव हुँदैछ । बी डिभिजनबाट ११ क्लबले मताधिकार पाउनेछन् । यसअघि एन्फा नेतृत्वमा संगै आएका कर्मा र पंकज एक आपसका विरोधीका रूपमा आगामी चार वर्षका लागि चुनावी प्रतिस्पर्धा गर्दैछन् ।