logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राखेपले नवौं राष्ट्रिय खेलकुदको बजेट खाका तयार गर्ने


अंकुरण खबर
1.079K
Shares

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिको बैठकले एक वर्षअघि नै सम्पन्न हुनु पर्ने नवौं राष्ट्रिय खेलकुद कोभिड-१९ का कारण सम्भव नभएकाले यसै वर्ष नवौं राष्ट्रिय खेलकुद आयोजनासम्बन्धी समय निर्धारण, आयोजना तथा व्यवस्थापन कार्यविधि र बजेट व्यवस्थाको खाका तयारीका लागि अविलम्ब युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा कार्यकारी समितिका संयोजक राखेपका निमित्त सदस्यसचिव कुलबहादुर थापाको संयोजत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले राखेपको विभिन्न पद तथा श्रेणीमा कार्यरत अत्यावश्यक करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गर्‍यो । उनीहरुको गत पुस मसान्तमै म्याद समाप्त भएको थियो ।

त्यस्तै चीनको होन्जाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको उपयुक्त सहभागिता र बजेटका लागि खेलकुद मन्त्रालयमा अनुरोध गर्ने तथा रुसमा हुने सातौं चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा नेपालबाट कुन–कुन खेलहरु समावेश गर्न खेलाडी छनोट गर्ने र सहभागितालाई बजेट व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।