logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी पारित हुने अवस्था आएमा हामी सरकार छाड्छौं : माओवादी नेता गजुरेल


अंकुरण खबर
2.041K
Shares

सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्न बताएका छन् ।

एमसीसी संसदमा टेबुल गर्ने विषयमा मात्र आफ्नो पार्टी लचिलो भएको तर पूर्ववत् अडान भने कायमै रहेको उनले बताए । ‘एमसीसी टेबुल गर्ने विषयमा मात्र लचिलो भएका हौं, तर पारित गर्ने पक्षमा हाम्रो पार्टीको पूर्ववत् अडान कायमै छ,’ गजुरेलले भने, ‘यदि एमसीसी पारित हुने अवस्था आयो भने हामी गठबन्धन सरकार छाड्छौं ।’

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने विषयमा माओवादी केन्द्रमा दुई धार छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिमा छलफलमा लगेर सबै दलको सहमतिमा संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर, अन्य नेता भने संसदबाट अनुमोदन नै गर्न नहुने पक्षमा छन् ।

एमसीसी सम्झौतालाई लिएर माओवादी केन्द्र सडकमा आन्दोलित अवस्थामा छ । एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा एमसीसीमा छलफल नहुने र निर्णयार्थ पेस हुँदा संसदमा उपस्थित सांसदको संख्याका आधारमा सामान्य बहुमतले पारित हुने डर माओवादीलाई छ । त्यसैले एमसीसी पास भएमा सरकार छाड्ने निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको छ ।