logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्री भगवतीको विजयी सुरुआत, झम्सिखेल युथ क्लब ३-१ गोलअन्तरले पराजित


अंकुरण खबर
884
Shares

झम्सिखेल युथ क्लबलाई ३-१ अन्तरले पराजित गर्दै श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको उद्घाटन खेलमा भगवतीलाई जित दिलाउन अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक-एक गोल गरे । झम्सिखेलका मानकुमार राईले एक गोल फर्काएका थिए ।

अनिलले २४औं मिनेटमा गरेको गोलबाट श्री भगवतीले अग्रता लिएको थियो । झम्सिखेलका मानकुमारले ३७औं मिनेटमा गोल गर्दै पहिलो हाफमा खेल १-१ को स्थितीमा ल्याए । रमेशले ५१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई २-१ को अवस्थामा पुर्‍याएका थिए । मिलनले ६३औं मिनेटमा तेस्रो गोल गरेसँगै श्री भगवतीले सहज जित निश्चित गर्‍यो ।

लिगमा यस सिजन श्री भगवती र झम्सिखेलसँगै, टुसाल युवा क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ एसोसियसन, खुमलटार युवा क्लब, बाँसवारी क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, सामाजिक युवा क्लब, रानी पोखरी कर्नर टिम आरसिटी, नयाँबस्ती युवा क्लब, श्री कुमारी क्लब र चर्च ब्वाइज युनाइटेड क्लब गरि १४ टोली सहभागी छन् ।

सरस्वती अघिल्लो संस्करणको शीर्ष डिभिजनबाट घटुवा भएको टोली हो । यस्तै, चर्च ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिग च्याम्पियनको रूपमा ‘बी’ डिभिजनमा बढुवा हुँदा वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा रहँदै दोस्रो डिभिजनमा बढुवा भएका हुन् ।

यसपटक लिगको शीर्ष दुईमा रहने टोली शीर्ष डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।