logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

दिक्तेल मेयर कप तेश्रो केएफए फुटबल प्रतियोगीता ११ चैतदेखि, खेल तालिका सार्वजनिक


अंकुरण खबर
897
Shares

खोटाङको दिक्तेलमा सञ्चालन हुने दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए) ले आगामी ११ चैतदेखि १८ चैतसम्म सञ्चालन हुने प्रतियोगीताको खेल तालिका मंगलबार सार्वजनिक गरेको हो ।

‘स्थानीय खेलाडी र क्लवको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्ने तय गरिएको छ ।

फुटबल प्रतियोगीता उद्घाटनकै अवशरमा दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास गर्ने कार्यक्रम रहेको एकेडेमीले जनाएको छ ।

स्थानीय फुटबल टिम र खेलाडीको प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगीतामा जिल्लाका १६ टिमको प्रतिष्पर्धा हुने प्रतियोगीताका इभेन्ट मेनेजर प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मूख्य प्रायोजक रहेको प्रतियोगीताका विजेताले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमीफाइनलिष्टले २०/२० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रि–क्वाटरफाइनलमा विजयी हुने टिमलाई दुई हजार, क्वाटरफाईनल जित्नेलाई तीन हजार, सेमीफाइनल जित्नेलाई ३ हजार पाँच सय र फाइनल जित्नेलाई थप चार हजार प्रोत्साहन रकम प्रदान गरिने छ ।

जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक टिमलाई मात्र प्रतियोगीतामा सहभागी गराइएको छ । प्रतियोगीतामा सहभागीताका लागि टिम दर्ता भएको वडाको ६ जना र सम्वन्धित पालिकाको ४ जना खेलाडी अनिवार्य गरिएको छ । प्रत्येक टिमले जिल्लाभरीबाट तीन जना खेलाडीलाई आफ्नो टिममा समावेस गर्न पाउने छन् ।

नगरपालिकाका कर्मचारी र निर्माण व्यवसायीबचमा शोम्याच खेल हुनेछ भने डिफेन्डिङ च्याम्पियन युवा जागरण स्पोर्ट्स क्लब र बुइपा ११ बिच उद्घाटन खेल हुने प्रतियोगीताका संयोजक श्यामकुमार पौडेलले बताए । एकेडेमीले २०७४ साल र २०७७ सालमा फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।

‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले ‘फुटबल सवैका लागि’ भन्ने नारा सहित विभिन्न उमेर समुहका खेलाडीलाई सहभागी गराएर फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको छ ।

फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्य बोकेको केएफएले एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रमको जिम्मा पनि पाएको छ । केफएको पहलमा रंगशाला बनाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत २७ मंसिरमा ४ करोड ८० लाखको टेण्डर आव्हान गरिसकेको छ ।