नेपाल ट्राइयाथलन संघको आयोजनामा एसिया ट्राइयाथलन कप तथा दक्षिण एसिया च्याम्पियनसिप शनिबार पोखराको फेवातालमा हुने भएको छ ।
त्यसका लागि सम्पूर्ण तयारी भएको संघले जनाएको छ ।
प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्यान्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरी सात राष्ट्रका पुरुषतर्फ ४० र महिलातर्फ २३ गरी ६३ खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगिता पोखराको बसुन्धरा पार्कस्थित फेवा लेकमा सञ्चालन हुने छ । प्रतियोगिता ७५० मिटर पौडी, २० साइक्लिङ र ५ किमि दौडको दूरीमा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।
अघिल्लो संस्करणमा उक्त दूरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिलातर्फ भारतकी प्रग्न्या मोहन एक घन्टा नौ मिनेट २३ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भएकी थिइन् ।