सडियो नेमाको दुई गोलप्रेरित लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ । यससँगै लिभरपुलको जारी सिजन चार उपाधि जित्ने सम्भावना कायम रहेको छ ।
यसअघि लिभरपुलले लिग कपको उपाधि जितिसकेको छ । आज एफए कपको फाइनलमा स्थान बनाउन सफल लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ भने प्रिमियर लिगको पनि उपाधि होडमा छ । लिगमा लिभरपुल शीर्ष क्लब सिटीभन्दा एक अंकले मात्र पछाडि छ ।
गत आइतबार प्रिमियर लिगमा पनि सिटी र लिभरपुल आमने सामने भएका थिए । सिटीको घरेलु मैदान इत्तिहाद रंगशालामा दुई टोलीले २–२ को बराबरी खेलेका थिए । तर, गएराति लन्डनस्थित वेम्बली रंगशालामा पहिलो हाफ लिभरपुलले एक पक्षीय बनाएको थियो ।
लिभरपुलले नवौं मिनेटमा इब्राहिमा कोनाटेको गोलबाट अग्रता लिएको थियो । १७औं मिनेटमा मानेले दोस्रो गोल थपे । ४५औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा सिटीले सुधारिएको प्रदर्शन गरे पनि लिभरपुललाई रोक्न भने सकेन । ४७औं मिनेटमा सिटीका ज्याक ग्रालिशले गोल फर्काए । चार मिनेट इन्जुरी समयको पहिलो मिनेटमै बर्नान्डो सिल्भाले गोल फर्काए पनि सिटीलाई बराबरी गर्न धेरै ढिला भइसकेको थियो । यससँगै लिभरपुल २०१२ पछि पहिलो पटक एफए कपको फाइनलमा स्थान बनाउन सफल भयो ।
‘‘पक्कै पनि यो गर्वको क्षण हो । अविश्वसनीय क्षण हो । पहिलो हाफमा हामीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्यौं,’’ लिभरपुलका मुख्य प्रशिक्षक योर्गान क्लोपले भने, ‘‘हामीले सही निर्णयमात्र लियौं । सही समयमा गोल गर्न सफल भयौं । अविश्वसनीय खेल खेल्यौं । पहिलो हाफको प्रत्येक सेकेण्ड मलाई मन पर्यो ।’’
लिभरपुलले अब फाइनलमा चेल्सी र क्रिष्टल प्यालेसबीचको विजेतासँग १४ मेमा प्रतिस्पर्धा गर्नेछ । चेल्सी र क्रिष्टल प्यालेसले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।