logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने औषधि स्थानीय तहमै उपलव्ध गराउनेः नेकपा एमाले


अंकुरण खबर
1.547K
Shares

नेकपा एमालेले स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाइएको हो ।

घोषणापत्रमा पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने जनाइएको छ ।

यस्तै आरोग्यता, स्वास्थ्य परीक्षण, निशुल्क आधारभतू स्वास्थ्य सेवा, जटिल रोगको निशुल्क उपचार, विमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दाबी पनि एमालेले गरेको छ ।

‘प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।

निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुने कुरा सुनश्चित गर्ने पनि घोषणापत्रमा लेखिएको छ ।

स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन् स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गंभीर रोगको पूर्वपरिक्षण ९स्क्रिनिङ० र पाठेघरको क्यान्सरको निशुल्क परीक्षण गर्ने प्रतिवद्धता एमालेले गरेको छ ।

‘प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको स्वास्थ्य विमा निशुल्क गर्ने,’ घोषणापत्रमा लेखिएको छ ।

स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गंभीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलव्ध गराउने व्यवस्था गर्ने प्रतिवद्धबता एमालेको छ ।