logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एट्लेटिकोको सहज जित ,इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि र दिल्लीले राजस्थानलाई हरायो


अंकुरण खबर
806
Shares

राजस्थान रोयल्सलाई ८ विकेटले हराउदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ ।

बुधबार राति राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेकाे हाे । दिल्लीका मिचेल मार्शले सर्वाधिक ८९ रन बनाए । डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेकाे थियाे ।

राजस्थानका रविचन्द्र आश्विनले ५० रन बनाए । यस्तै देबदुत पडिकलले ४८ रनको योगदान गरे । जितसँगै दिल्ली १२ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ । राजस्थान १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

इल्चेलाई २-० ले पराजित गर्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो पारेको छ ।

गयराति प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा एट्लेटिकोले ला लिगामा चार सय खेल खेलेको हो । सिमोनीको टोलीले आइतबार लिग विजेता रियाल मड्रिडलाई १-० ले पराजित गरेको थियो ।

२८औँ मिनेटमा म्याथ्युज कुन्हाको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । ६२औं मिनेटमा रोर्डिगो डी पाउलले एट्लेटिकोको अग्रता दोब्बर पारेका थिए ।

जितपछि ३६ खेलमा ६७ अंकसहित एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो । चौथो स्थानको सेभिया भन्दा एट्लेटिको एक अंकले अघि रहेको छ । एट्लेटिकोले आगामी सिजन च्याम्पियन्स लिगको टिकट सम्भावना बलियो पार्ने क्रममा पाँचौ स्थानको रियल बेटिससँग ६ अंकको अग्रता लिएको थियो ।

लिगमा अब दुई चरणका खेल मात्र बाँकी रहेको छ । लिग  विजेता रियाल मड्रिडसँगै दोस्रो स्थानको बार्सिलोना यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् ।

सेभिया भने बुधबार रियल मार्लोकासँग गोलरहित बराबरीमा रोकिएको थियो । सेभिया पाँचौ स्थानको बेटिसभन्दा पाँच अंकले अघि रहेको छ ।

 

इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएकाे हाे  ।

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो ।

इन्टरका लागि निकोला बरेला,हाकन गोल गरे  । अतिरिक्त समयमा इभान पेरिसिचले महत्त्वपूर्ण दुई गोल गरे ।  युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन भाल्होभिच्ले गोल गरे ।

इन्टरले सन् २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो ।