logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्षज्यू असफल हुनुभयो, उम्मेदवारी नदिनुस्: पूर्व प्रवक्ता राई


अंकुरण खबर
1.495K
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वप्रवक्ता किरण राईले अध्यक्ष कर्माछिरिङ शेर्पालाई आगामी निर्वाचनमा उम्मेदवारी नदिन सुझाएका छन् ।

‘उहाँले क्रमिक रूपमा गल्ती दोहोराइरहनुभयो । सुध्रिने अवस्था नै आएन । हामीले धेरै सहयोग गरेका हौं । तर उहाँ पूर्ण रूपमा असफल हुनुभयो,’ ६ असारमा हुने एन्फा निर्वाचनमा पंकजविक्रम नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममा राईले भने, ‘त्यसैले तपाईसँग कुनै व्यक्तिगत असहमति छैन, तर तपाई चुनाव लड्ने आइडिया ड्रप गर्नुस् ।’

राईले शेर्पाको कुरा मिडियाबाट सुनेर आफू उदयपुरबाट काठमाडौं आएको बताए । ‘प्रशिक्षक र खेलाडीको घटनापछि नैतिकताको आधारमा उहाँले राजीनामा गर्नुहोला भन्ने आशा गरेको थिएँ । आफू पूर्ण रूपमा असफल भइसकेपछि अब उम्मेदवारी दिन्न भन्नुहोला भन्ने अपेक्षा थियो, तर उहाँले फेरि पुराना कामको निरन्तरता दिन उम्मेदवारी दिने भनेपछि म आएको हुँ,’ उनले भने ।

शेर्पा नेतृत्वको पछिल्लो चार वर्ष नेपाली फुटबलको कालो अवधि भएको बताउँदै उनले आगामी दिनमा सिस्टममा नेपाली फुटबल चलाउनुपर्ने विचार राखे । शेर्पालाई लक्षित गर्दै उनले थपे, ‘तपाईले ड्रप गर्दा हुन्छ । तपाई असफल हुनु भयो । स्टाफमाथि तपाईको कन्ट्रोल छैन । कुनै कुरा गरे सचिवालयतिर पन्छाउनु हुन्छ । प्रधानमन्त्री र मुख्यमन्त्रीजस्तो सेल्फी खिचेर बस्नुभयो । त्यो तपाईको खास काम होइन ।’

प्रशिक्षक काण्डमा केही गर्न नसकेका कारण आफूले प्रवक्ताबाट राजीनामा दिएको प्रष्ट्याउँदै उनले पंकजविक्रम नेम्वाङ वा वीरबहादुर खड्काको व्यक्तिगत महत्वाकांक्षाका आधारमा नभई सम्पूर्ण जिल्ला र क्लबहरुको मागका आधारमा उम्मेदवारी घोषणा गर्न लागेको बताए ।